मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २२ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भावी योजना बनाउन बैठक आह्वान गरेको छ।
आज (सोमबार) दिउँसो एक बजे बस्ने बैठकमा राजसंस्था पुनस्र्थापनाका लागि अबको आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने विषयमा बैठक बोलाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए।
उनले जनआन्दोलन समितिले हालसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरेको उल्लेख गर्दै चैत १५ गते तीनकुनेमा समितिको अवधारणा सार्वजनिक गर्ने कार्यक्रममा राज्यले चरम दमन गरेको जनाए।
‘अहिलेसम्म जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छैन। तीनकुने घोषणा सभामा राज्यले चरम दमन गरेर समितिका नेता कार्यकर्तालाई पक्राउ गरेको छ,’ नेपालले डिसी नेपालसँग भने, ‘अहिलेसम्म आन्दोलनको कार्यक्रम घोषणा नहुँदै राज्यले चरम दमन गरेको छ। अब समितिले भावी योजना र आन्दोलनका कार्यक्रमको विषयमा छलफल गर्न लागेको हो।’