पहिचानवादी शक्ति एक ठाउँ हुन नदिन रेशमलाई पक्राउ गरियो : जनमत

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७।  जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा आउन नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ।पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा यस्तो बताएका हुन् । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने । चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ । यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ ।

प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन् । नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चौधरी पक्राउ परेपछि उनका समर्थकले प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर