मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ११। काठमाडौंको तीनकुनेमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई स्वास्थ्य उपचार गर्ने प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। उनीहरूलाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको हो ।
उनीहरुको हाजिरी जमानीमा छाडी पाउँ भन्दै निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप तीन दिन मात्र हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपको माग गर्दा प्रहरीले जाहेरी लिने र क्षतिको विवरण संकलन गर्ने काम बाँकी रहेको भनेको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले प्रहरीलाई अर्को पटक म्याद थपका लागि आउँदा कुन–कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरण समेत दिन आदेश गरेका छन् ।