कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको निधन, आज शोक विदा !

  माघ ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ८ ।  नेपाली कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
काठमाडौंस्थित निवासमा उहाँको निधन भएको पार्टीले जनाएको छ । उनी तत्कालीन जिल्ला विकास समिति सुनसरीका पहिलो सभापति एवं नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति थिए । उनी दुई पटक कांग्रेस सुनसरीको सभापति भएका थिए । १०औं र ११औं महाधिवेशनबाट उनी पार्टीको जिल्ला सभापति बनेका थिए ।

प्रजातन्त्र स्थापनापछि २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट बस्नेत जिविस सुनसरीको सभापति निर्वाचित भए । उनी जिविस सुनसरीका पहिलो सभापति पनि थिए । यसैबीच, सुनसरी कांग्रेसले नेता बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङले शोक वक्ताव्य जारी गरेर दुःख व्यक्त गरेका छन् । बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी कार्यालय इनरुवामा राखिने भएको छ । माघ ७, ८ र ९ गते सुनसरी जिल्ला अन्तर्गतका सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको छ । यस्तै इनरुवा नगरपालिकाले मंगलबार उनको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर