मिडियाबाजी डटकम काठमाडौं ,फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व र वहालवाला मन्त्रीसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । टेरामक्स प्रकरणमा बयान लिने काम सकिएपछि मुद्दा चलाउने तयारीमा अख्तियार पुगेको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस, अडियो प्रकरणको पनि छानबिन सकिएको छ । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो । यो विवादपछि बाँस्कोटाले राजीनामा दिएका थिए । यी सबै विषयलाई अख्तियारले एकसाथ अघि बढाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएर मुद्दा बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । यो प्रकरणमा खरिद प्रक्रिया सुरु भएयताको मन्त्रीदेखि सहसचिवसम्मलाई विपक्षी बनाएर मुद्दा दर्ता गराउने अन्तिम रहेको राईले बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिले मंगलबार विगतमा दिएको निर्देशनमा के भइरहेको भनेर अख्तियार प्रमुख राईसँग छलफल गरेको थियो । सो छलफलमा उनले टेरामक्स खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन मुद्दा बनाउने काम भइरहेको जानकारी दिएका थिए । उनले केही समयमा नै यसको रिजल्ट आउट हुने बताए ।
टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग बयान लिएको थियो । पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने सुटुक्क अख्तियार पुगेर बयान दिएका थिए । प्रमुख राजनीतिक दलबीच तत्काल टेरामक्सको विषय अगाडि नबढाउने सहमति गरेका थिए । तर त्यो सहमति राष्ट्रिय सभाको निर्वाचनका क्रममा भाँडिएको बताइएको छ ।
एमालेलाई राष्ट्रिय सभामा मागेजति सीट दिन गठबन्धन तयार नभएपछि दलहरूबीच भएको टेरामक्स प्रकरणलाई हाल नचलाउने भनेर भएको सहमति भाँडिएको हो । टेरामक्समा कांग्रेसका मन्त्रीहरूलाई टार्गेट गरिएको छ । कांग्रेस र माओवादी भने अख्तियार प्रमुखले टेरामक्सको मुद्दा अगाडि बढाएमा नक्कली शरणार्थी प्रकरणमा राईलाई अप्ठ्यारो बनाउने भन्दै एमालेलाई चेप्न खोजेका थिए । टेरामक्स अगाडि बढ्दा एमालेका गोकुल बाँस्कोटा पनि मुछिने सम्भावना छ ।
तर, आजको छलफलमा राईले यी राजनीतिक विषय भने उठाएका थिएनन् । उनले हाल आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए । उनले तीमध्ये कतिपय उजुरीका आधारमा मुद्दा दायर गरिएको पनि बताए । अख्तियारले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ थियो ।