मिडियाबाजी डटकम काठमाडौं,पौष १० । पोखरामा २०६२÷०६३ को जनआन्दोलनको क्रममा तोडफोड गरिएको राजा वीरेन्दको शालिक पुनः ठड्याइएको छ । पोखरा १० रामबजारमा २०६९ सालमा राजा वीरेन्द्रको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामाकरण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताको सक्रियतामा शालिक पुनस्र्थापना गरिएको हो । अभियानमा स्थानीय नागरिकको पनि साथ रहेको थियो । यद्यपि, राप्रपा कास्कीका नेता अरुण गिरीले चाहिँ स्थानीयले स्वतःस्फूर्त रुपमा शालिक स्थापना गरेको जानकारी पाएको बताए । ‘राजा वीरेन्द्रप्रतिको आस्थाका कारण स्थानीयले नै त्यो काम गरेको जानकारी आएको छ,’उनले भने । उनका अनुसार साढे ८ फिटको पित्तलको पूर्णकदको शालिक बनाउन करिब २५ लाख रुपैयाँ खर्च भएको छ ।
राजा वीरेन्द्रको वंशनाश भएपछि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा शालिक स्थापना गरिएको थियो । क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए ।
राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको शालिक पुनस्र्थापनाको माग राख्दै आइरहेको छ । पोखरा ९ पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक पनि आन्दोलनको क्रममा तोडफोड गरिएको थियो । पछि त्यहाँ प्रथम शहीद लखन थापाको शालिक राखियो । राजा समर्थितहरुले पृथ्वीकै शालिक राखिनुपर्ने भन्दै लखनको शालिकको तल पृथ्वीनारायणको प्रतिमा लगेर राखे पनि पोखरा महानगरले त्यसलाई हटाइदियो । पृथ्वीनारायणको शालिक हटाएपछि केही समय आन्दोलन पनि भएको थियो ।
यता, शालिक पुनस्र्थापना भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु देखिएका छन् । सामाजिक सञ्जालमा सक्रिय अभियन्ता विश्व सिग्देलले शालिक पुनस्र्थापित भएकोमा खुुसी व्यक्त गरेका छन् ।
उनले इतिहास मास्न नहुने तथा आफूले मन नपराउँदैमा त्यो व्यक्तिविरुद्ध खनिने प्रवृत्ति घातक हुने एवं लोकतन्त्रको सौन्दर्य भनेकै फरक विचारलाई पनि ठाउँ दिनु भएको उल्लेख गर्दै भनेका छन्,‘लोकतन्त्रको सौन्दर्य के हो भने लोकतन्त्रमा दुश्मनका पनि शालिक ढालिँदैनन् ।’
उनी लेख्छन्,‘स्थानीय बासिन्दाहरु मिलेर पोखराको वीरेन्द्र चोकमा वीरेन्द्रको शालिकको पुनस्र्थापना गरेछन् । मेरो छिमेकी वडा भएको हुँदा त्यतातिर जाँदा स्थानीय जनताहरुको शालिक टुटेसँगै हृदय पनि टुटेजस्तो मलाई लाग्थ्यो । कहिलेकाहिँ त्यही चोक भएर गुज्रँदा हिजोको चोक र वरीपरीको सौन्दर्यमै बज्रपात भएर उजाड भएजस्तो लाग्थ्यो ।
शालिकहरु सडक–चोकको सौन्दर्य ,कला प्रवद्र्धन ,प्रदर्शन ,इतिहासप्रति नागरिकहरुमा गौरव र जागरण गराउन वा जनतालाई अब यस्तो नहोस् भनेर सचेत गराउन पनि हुन्छन् ।बेलायत कहिल्यै कम्युनिष्ट भएन तथापि कार्ल माक्र्सको समाधि बेलायतमा राष्ट्रिय महत्वको रुपमै संरक्षित छ । गान्धी र मण्डेला जहिले पनि बेलायतका घृणाका पात्र रहे । आज बेलायतको राजकीय चर्च ,संसद १० डाउनिङ प्रधानमन्त्री निवासको चोकमा मण्डेला–गान्धी उभिएकै छन्, त्यो पनि चर्चिलको बगलमै । जसले मण्डेला–गान्धीको म र ग भन्ने अक्षरलाइ समेत घृणा गर्थे ।
राजा र राजसंस्थाको भेद नजान्दा हामीले दुख पायौं । अहिले त प्रचण्ड ,बिजुक्छे वैद्यहरु जस्ता गणतन्त्रवादीहरु समेत अमूर्त भाषामा यीभन्दा त राजा उत्तम थिए भन्न थालिसके । जनता त भनिरहेकै छन् । जे होस्, इतिहास सबैको साझा हो ,सहमत हुने असहमत हुने सबैको सम्पत्ति हो । सहमत हुनेले खादा चढाउलान् । असहमत हुनेले सन्तानलाई यस्तो मान्छे कहिल्यै नहुनू भनेर चेताउलान् । खुसी–बेखुसी हुन पाइन्छ तर इतिहास मेटिन हुँदैन । विचार अमर हुन्छ ,शालिकहरु अमर नहुँदा रहेछन् ।आज गान्धी,लेनिन, माओका शालिक पनि त आफ्नै देशमा ढलिरहेछन् ।’