सरकार चिनी खरिद गर्न असफल : यस वर्ष तिहारमा पनि अभाव हुने

  कार्तिक १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १५ । यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन् । सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो ।

कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ । त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ । अब सरकारको उच्च तहबाट पहल गरेर कुनै उपाय नखोजिएमा मन्त्रालयको तर्फबाट चिनी ल्याउन सक्ने अवस्था नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले बताए ।

बजारमा अहिले चोरी बाटोबाट ल्याएको चिनी प्रतिकिलो एक सय ५० देखि एक सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । तर धेरैजसो खुद्रा पसलमा चिनी पाइँदैन । सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी काठमाण्डौ उपत्यकामा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रति ग्राहक दुई किलोका दरले बिक्री गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर