मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले २०८० असोज ३० गते मंगलबार दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराइन्छ । यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
उनका अनुसार व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ जना पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो ।
घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा आग्रह गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीहरूमाथि लामो समयदखि ज्यादती गर्दै आएको छ । त्यसविरुद्ध महासंघले यो प्रकृतिका धर्ना र कालोपट्टी बाँध्ने काम कयन पटक गरिसकेको छ । तर, महासंघलाई कान्तिपुरले अलिकति पनि टेरेको छैन । त्यस प्रकारको विरोधका कार्यक्रमले कान्तिपुर नडगमगाएपछि थप सशक्त आन्दोलनका कार्यक्रम लिएर अघि बढ्नुपर्ने महासंघ उही पुरानै ढर्रामा रहेर कान्तिपुरविरुद्ध देखावटी खान्दोलनमा उत्रिएको हो ।