मिडियाबाजी डटकम काठमाडौं, असोज ६ । दाङको तुलसीपुरमा एकैजनाबाट तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तुलसीपुर नगरपालिका–११ का ३८ वर्षीया टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठेगाना भएकी ४२ वर्षीया रिता लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट ४५ वर्षीय बीरबहादुर हमाल र अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल घाइते भएका छन् । घाइते बीरबहादुरको दायाँ हातमा गम्भीर चोट लागेको कमला कुमारीमाथि पनि खुकरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये कमला कुमारी हमालको नेपालगञ्ज मेडिकल कलेज र वीरबहादुरको तुलसीपुरििस्थत राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै प्रहरीले खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको छ ।