काठमाडौँ चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित

  माघ ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ । महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिएको बुझिएको छ । मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अघिल्लो सरकारका पालामा महानगरप्रमुखले मोनोरेल सञ्चालनका विषयमा पहल गरे पनि अहिलेका महानगर प्रमुखले त्यसबारेमा चासो देखाएका छैनन् ।

उनले भने, “महानगरका अघिल्लो मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको परिकल्पना गरेर वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिरहनुभएको थियो । अहिलेका मेयर साहले भने यस विषयमा कुनै चासो राख्नुभएको छैन । उहाँको प्राथमिकतामा यो विषय समावेश भएन ।” मोनोरेल निर्माणका लागि चिनीयाँ सरकारी कम्पनीले २०७६ सालमा फिजिविलिटी अध्ययन गरेको थियो । जसले मोनोरेल सम्भव हुने प्रतिवेदन दिएको थियो ।

२७.७ किलोमिटर लम्बाइ रहेको चक्रपथमा मोनोरेल सञ्चालन गर्ने योजनाअनुरूप ललितपुर महानगरसँग पनि समन्वय भएको थियो । ललितपुर महानगर पनि यस विषयमा सकारात्मक भएको जनाएको थियो । मोनोरेल सञ्चालनका लागि महानगरले कलङ्की–सातदोबाटो–कोटेश्वर–चाबहिल हुँदै पुनः कलङ्कीसम्म पुग्ने रुट बनाउने तयारी गरेको थियो । एक डेढ किलोमिटरमा सबस्टेशन रहने फिजिविलिटी अध्ययनको प्रतिवेदनमा उल्लेख रहेको छ । अघिल्लो सरकारका पालामा महानगरले मोनोरेलको विषयमा बजेट समेत नछुट्याएकाले अहिले कुनै योजना नरहेको मानन्धरको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईंको प्रतिक्रिया

थप खबर