मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराइसकेकी छन् । उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे गर्ने गरी संघीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।