मिडियाबाजी डटकम काठमाडौं,पौष १८ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।
केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउँछन् । हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक हजार नौ सय दुई, भद्र जेलमा एक हजार एक सय २२ र महिला जेलमा चार सय २४ कैदीबन्दी रहेका छन् । जसमध्ये केन्द्रीय कारागारमा एक हजार सात सय २० कैदी, एक हजार सात सय ३८ थुनुवा र १४ नाबालक रहेका छन् । जसमा दुई सय ५८ विदेशी कैदीबन्दी छन् ।
अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको कारागार प्रशासक पाण्डे बताउनुहुन्छ । विसं १९७१ मा निर्माण गरिएका संरचनाबाहेक अहिले केही संरचना निर्माण भए पनि कैदीबन्दीलाई भने अझै अपुग भएको छ ।
केन्द्रीय कारागारको जिम्मा नेपाल प्रहरीले दिँदै आएको छ । काठमाडौँको केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक डिएसपीको कमाण्डमा तीन सय ७६ प्रहरी परिचालन गरेको छ ।