आगामी निर्वाचनमा हामीले बिस लाख मत पाउँछौं – माधव नेपाल

  भदौ २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २५। चन्द्रौटा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।

गएको स्थानीय तह निर्वाचनमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आउँदो निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँचदलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।उनले मधेस प्रदेशले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने प्रयास गरेको बताए । उनले मदरसालाई व्यवस्थित गराई सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।पार्टीका सबै संगठनलाई मजबुत बनाउने दायित्व सबै नेता–कार्यकर्ताको रहेकाले गाउँगाउँमा संगठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए ।

उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आउँदो निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताए ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार, प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले एकीकरणको समयदेखि हालसम्म मुस्लिम समुदायले देशको रक्षाका लागि गरेको प्रयास प्रशंसनीय रहेको जिकिर गरे ।

  • रासस

तपाईंको प्रतिक्रिया

थप खबर