बजेट निर्माणको क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश गरेको छैन -जनार्दन शर्मा

  श्रावण ०५, २०७९

 मिडियाबाजी डटकम काठमाण्डौं।संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज लामो बयान लिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वका दर हेरफेर गरेको लगायत आरोप लागेका मन्त्री शर्मालाई बोलाएर समितिले आज बयान लिएको हो ।

करिब तीन घण्टासम्म लिइएको बयानका क्रममा शर्माले बजेट निर्माण गर्दा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नभएको भन्दै आरोप अस्वीकार गरेका छन् । बयान दिएर बाहिरिने क्रममा पत्रकारसँग उनले भने, ‘मैले समितिबाट सोधिएका एकएक प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले नै निर्क्यौल गर्नुहुन्छ ।

गत जेठ १४ गते राति करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएको या नबोलाएको बारे यकीन गर्न अर्थमन्त्रालयसँग सिसिटिभी फुटेज माग गर्दा उपलब्ध नगराएको आरोप थपिएपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो तर बयानमा भने शर्माले आफूले कुनै पनि अनअधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न नगरेको र प्रचलित मूल्य, मान्यता, विधि तथा प्रक्रियाअनुसार नै बजेट निर्माण गरेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर