मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन्।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका हुन्।
बिहीबार सिंहदरबारमा साउन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्व जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने रानी जमरा सिँचाई आयोजना तेश्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बिकास संस्थाबाट प्राप्त हुने करिव १८ अर्व ९२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।