मनसुनको ६० दिनः देशैभर सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

  श्रावण १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ।

गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको हालसम्मको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो।

जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो। त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो। असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभर सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ छ।

उनका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ। मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन् भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ।

“असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ। वर्षा नै नभई रातको समयमा अकस्मात बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन्। बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अंग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ”, प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया

थप खबर