आज साउन १५ : खीर खाएर मनाइँदै

  श्रावण १६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदैछ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हो। वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ ।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ। सावधानलाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ।

संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।

“साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई-भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ। यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ।

तपाईंको प्रतिक्रिया

थप खबर