मिडियाबाजी डटकम काठमाडौँ जेष्ठ १७। नियात्राकार प्रदीप सापकोटाको पछिल्लो नियात्राकृति ‘यात्राको लय’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ बौद्धस्थित ‘उत्पला क्याफे’ मा हिजो शुक्रबार सम्पन्न परिचर्चा कार्यक्रममा करिब तीन दर्जन भन्दा बढी स्रष्टाहरू उपस्थित थिए ।परिचर्चा कार्यक्रम अनौपचारिक रूपमा प्रारम्भ भएको थियोे । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कवि तथा नियात्राकार छविरमण सिलवालले सहजीकरण गर्दै लेखकलाई कार्यक्रमको नायकका रूपमा प्रस्तुत गर्नुभएको थियोे ।
वरिष्ठ निबन्धकार तथा साहित्यकार श्रीओम श्रेष्ठ’रोदन’ले नियात्रा बीसको दशकको उत्तरार्धदेखि नै लेखिए पनि पचासको दशकपछि मात्रै नियात्रा नेपाली साहित्यमा थप चलायमान भएर आएको बताउनु भयो । प्रदीप सापकोटाको यात्राको लयमा पाठकलाई सँगै डोर्याएर लान सक्ने सामर्थ्य छ भन्दै उहाँले-“निजात्मक अनुभूति र भावनालाई स्थानीयतामा डुबेर नियात्रा लेखेका छन् । यसले उनको नियात्रामा खुबी देखाएको छ । नियात्राकारले थप उचाई लिने सृजना गर्न कृतिले चुनौती थपिदिएको छ।” भन्ने शुभकामना दिनुभयो ।

चर्चाकार वरिष्ठ नियात्राकार जय छाङ्छाले ‘यात्राको लय’ मार्फत प्रदीप सापकोटाले एउटा आशावादी नियात्राकारको रुपमा आफूलाई उभ्याएको बताए । उनले भने -“सिद्धान्त र बिम्ब विधानहरू समावेश गरिएका नियात्राहरू बलिया रहेका छन् । वास्तवमा नियात्रा राम्रा छन् कि छैनन् भन्ने कुरा पाठकले हृदयले पढेपछि थाहा हुन्छ । यो नियात्रा कृतिमा सबै किसिमका बिम्बविधान प्रस्तुत हुनुले सापकोटा कुशल नियात्राकारका रूपमा उभिएका छन् ” उहाँले आगामी दिनमा थप उत्कृष्ट नियात्रा लेख्नको निम्ति शुभकामना समेत दिनुभयो ।
कवि तथा निबन्धकार श्रीबाबु कार्कीले सापकोटाकाे ‘यात्राको लय’माथि चर्चागर्दै – “यस कृतिमा प्रदीपजीले यात्राको लय समातेर आफ्ना हरेक यात्रालाई सार्थक बनाउनु भएको छ । लेखकीय शब्द-शिल्प मार्फत समाजको सभ्यता, संस्कृति र इतिहासको उत्खनन् सूक्ष्म रूपमा गर्नु भएको छ । यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् । उहाँका नियात्रामा यात्राको सपाट वर्णन मात्र छैन्, मन र मस्तिष्कको गहिरो अनुभूति समेतले सिंचित छन् । उहाँका हरेक नियात्राले पाठक तान्ने खुवी राख्छन्।”
वरिष्ठ नियात्राकार पवन आलोकले आफूले ‘यात्राको लय’ पढेको भन्दै मन छोएको बताए । नियात्राकार सापकोटालाई आलोकले शालीन,सरल व्यक्तिको रुपमा चिनेको बताए ।यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार नियात्राकार र सञ्चारकर्मी दुबैमा अब्बल देखिएको बताए ।
वरिष्ठ सर्जक डा.शैलेन्दुप्रकाश नेपालले प्रदीप सापकोटाको लेखनी अत्यन्त कलात्मक लागेको र उनको लेखनीले आफूलाई निरन्तर तानेको बताउनु भयो ।नियात्राकार प्रदीप सापकोटाले रहरले लेख्न सुरु गरेकोमा थप जिम्मेवार भएर लेख्न पर्ने महसुस गरेको बताउनुभयो । उहाँले उपस्थित सबैप्रति आभार प्रकट पनि गर्नुभयो ।सुसेलीका प्रवर्धक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ले केही सुसेलीहरोलाई प्रस्तुत गर्नुभयो ।सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले गर्नुभएको थियो।