मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ ।
बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग विशेष अभियान कास्कीको पोखरामा पुगेर स्थगित भएको थियो । उक्त अभियान फेरि सुरू गर्नेकी महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बस्न लागेको माओवादीले जनाएको छ । माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै आएका छन् । साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्ने बताएका थिए ।
उनको अभिव्यक्तिपछि नेताहरू विभाजित भएका छन् । शर्माले पार्टीको विशेष अधिवेशन माग गर्दै मंगलबार चार बुँदे प्रस्ताव समेत अघि सारेका छन् । आजको बैठकमा यो विषयमा पनि कुरा हुने सचिव दिनानाथ शर्माले जानकारी दिए ।