मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । रूसमा गएको ८.७ रेक्टर स्केलको भूकम्पको असर जापानदेखि अमेरिकासम्म पुगेको छ ।
धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएका छन् । भूकम्पको तीब्रता निकै उच्च भएकोले यसले धेरै ठूलो क्षेत्रमा क्षति गर्ने अनुमान गरिएको छ ।
जापानको स्थानीय प्रसारक एनएचकेले सुनामीका छालहरू होक्काइदो प्रान्तको उत्तरी क्षेत्रमा पुगेको रिपोर्ट गरेको छ। छालहरूको उचाइ लगभग १२ इन्च रहेको अनुमान गरिएको छ।
होक्काइदोको उत्तरपूर्वी भागमा रहेको बन्दरगाह शहर नेमुरोमा सुनामी आएको थियो। जापानी अधिकारीहरूले पहिले नै सुनामीको छाल धेरै उच्च हुन सक्ने चेतावनी जारी गरिसकेका थिए।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अधिकारीहरूले “परिस्थितिको मूल्याङ्कन गरिरहेको” बताए। उनले कुनै पनि राहत प्रयासमा “मानिसहरूलाई प्राथमिकता दिइने” बताए।
अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन। प्रधानमन्त्री शिगेरु इशिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र अग्लो जमिनमा सर्न आग्रह गरेका छन्। जापानभरका १९ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
यो सुनामी रुसको कामचट्का प्रायद्वीपमा गएको भूकम्पपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्पको तीव्रता ८.८ मापन गरेको छ।