मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन् ।
एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएकी छन् ।
‘साँझ पुलबाट हाम फालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘बिहान हाम फालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।’
बिहान पुलबाट हाम फाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ भएको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए ।