मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । आज (बुधबार) बिहान बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशको पहाडी भू–भागमा साधारणतया बदली रहि तराई भू–भागमा आंशिक बदली रहनेछ । राति देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ । मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउँछिन् ।
‘अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन’, उनी भन्छिन्, ‘सानो वर्षा त भइरहेकै छ ।’ गए राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको उनी बताउँछिन् ।