मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज (बुधबार) मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ । नामावलीमा दाबी–विरोध गर्न बिहान ८ः३० देखि ९ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११ः३० बजे सार्वजनिक गरिनेछ । उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ ।