प्रतिलिटर ५ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १६ ।  नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु चार र पेट्रोलमा प्रतिलिटर रु पाँच बढाएको हो।

निगमले हवाई इन्धनको पनि बढाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर रु ७ र अन्तरराष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५२ रुपैयाँ ५० पैसा, एक सय ५४ रुपैयाँ र एक सय ५५ रुपैयाँ तोकिएको छ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६६ तोकेको छ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर