मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि लड्नु पर्ने आवश्यकता देखिएको बताएका छन्।
आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘म प्रजातन्त्र सेनानीलाई त भन्दिनँ तर, एक पटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण र मूल्य–मान्यताका लागि लड्नुपर्ने आवश्यकता मैले देखेको छु ।’
उनले पार्टीमा पनि यसबारे कुरा गर्ने गरेको पनि बताएका छन्। तर, आफूलाई पार्टीभित्र राम्रो नमान्ने उल्लेख गर्दै उनले भने, ‘मलाई सधैँ घोच्छन्, शेखर कति खोट मात्रै देखाइरहन्छ भन्छन्। मैले कसैलाई व्यक्तिगत रूपमा खोट देखाउन खोजेको होइन । लोकतान्त्रिक आचरणमा बसेर अगाडि बढौँ भनेको हो । राम्रो काम गर्न सकिँदैन भने घरमै बसौं । दण्डहीनताले अप्ठ्यारो नपरोस्, सुशासन दिन सकौं भनेर मात्रै हो।’
उनले अब पनि आचरण परिवर्तन नगरिए गणतन्त्रले काम नगर्ने बताएका छन्। ‘हामीले हाम्रो आचरणलाई परिवर्तन गर्नुपर्यो । आचरण फेरि फर्काउनु पर्ने आवश्यकता छ। त्यो फर्किएन भने जतिसुकै गणतन्त्र, लोकतन्त्रको कुरा गरौं, त्यसका लागि मैले बोलिरहेको हो। कसैलाई व्यक्तिगत रूपमा आक्षेप लगाउन खोजेको होइन,’ उनले भने।