विपक्षीको अडान : गृहमन्त्रीको राजीनामा, सरकारको जवाफ र छानबिन समिति चाहियो 

  जेठ १७, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबनेसम्म संसदको अवरोध जारी राख्ने बताएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्नेमा आफूहरू अडिग रहेको बताए।

प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरू प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताएका छन् । उनले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महसुस गरेर संसद्मा बजेट प्रस्तुत गर्न दिएको र आफ्ना मुद्दा सम्बोधन गरेपछि मात्रै सदन अगाडि बढ्ने जिकिर गरे । उनले भने, ‘हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्‍यो । अनि मात्रै सदन अगाडि जान्छ । अनि मात्रै अरू काम हुन्छ । हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन् । त्यो कुराहरू पनि हामी सदनमा जानकारी गराउँछौं । हाम्रो आन्दोलन जारी राख्छौं । राजीनामा, जवाफ चाहियो, छानबिन समिति बन्नु पर्‍यो ।’ भिजिट भिसामा विदेश जानेहरूसँग लाखौं असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उहाँको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर