मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ ।
‘मध्य पहाडी जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । एकता प्रक्रियामा जोडिएका साथीहरूलाई समायोजन गर्ने निर्णय भएको छ । साबिकका पार्टीमा जुन तहमा जिम्मेवारी दिएको त्यहिअनुसार समायोजन गर्ने निर्णय भएको छ’, उनले भने । अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ । जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।