सन् २०२५ मा सगरमाथा शिखर चुम्ने पहिलो आरोही बने छिरीङ पेम्बा शेर्पा

  जेठ १७, २०८२

  • अनिल नेपाली
   मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १६ ।    चर्चित युवा आरोही छिरीङ पेम्बा शेर्पा सन् २०२५ मा सबैभन्दा पहिले सगरमाथा शिखरमा पुग्ने आरोही बनेका छन् । उनी सहित ६ जनाको टोली मे ९ को दिन बेलुका ४ः५० बजे सिजनको पहिलो चोटी सगरमाथा चुचुरोमा पुगेको थियो । 

अशोक लामाले नेतृत्व गरेको उक्त टिम क्याम्प–४ देखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न खटिएको थियो । मे ६ तारिख सगरमाथा आधार शिविरबाट माथि हिँडेको टोली मे ७ मा क्याम्प–२ देखि क्याम्प–४ सम्म पुगेको थियो । मे ८ मा टोलीले क्याम्प–४ देखि साउथ समिटसम्म डोरी टाँग्न सफल भयो । त्यस्तै, साउथ समिटदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्न सो टोली मे ९ को विहान २ः३० बजे नै क्याम्प–४ बाट अघि बढ्यो । मे ९ को विहान ९ बजे साउथ समिट पुगेको टोलीले त्यहाँबाट डोरी टाँग्दै बेलुका ४ः५० मा सगरमाथा चुचुरोमा पुगेको थियो । त्यसको अग्रपंतिमा छिरीङ पेम्बा रहेकाले सगरमाथा चुचुरोमा सिजनको पहिलो पाइला उनैले टेकेका थिए । ‘मैले हेरेँ टिबेट साइटबाट कोही आएको निशाना नै थिएन । त्यसैले, यो सिजनमा सगरमाथा चुचुरोमा पुग्ने पहिलो व्यक्ति म नै रहेछु ।’ उनले भने । 

को हुन् छिरीङ पेम्बा शेर्पा ?
सन् १९८५ डिसेम्बर १२ मा दोलखाको गौरीशंखरमा जन्मिएका छिरीङ पेम्बा शेर्पाले अहिलेसम्म १२ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सन् २००७ मे २३ मा पहिलोचोटी सगरमाथाको सफल आरोहण गरेका शेर्पाले सन् २००९, २०१०, २०११, २०१२, २०१३, २०१६, २०१९, २०२१, २०२२, २०२४ र २०२५ मा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
त्यस्तै, उनले केटु, किलिमञ्जरो, डेनाली, सिसापाङ्मा, चोयु, मनास्लु, आमादब्लम, अन्नपूर्ण–१, मकालु, लोत्से, खाङखार्पो, धौलागिरी–१, लार्के पिक लगायतका हिमालको ५६ पटक सफल आरोहण गरिसकेका छन् ।

दुई सन्तान र श्रीमतीसहित काठमाडौंमा बस्दै आएका शेर्पा आरोहण पेशासँगै आरोहण सम्बन्धि विभिन्न संघसंस्थामा पनि सक्रिय छन् । अहिले उनी नेपाल पर्वतारोहण प्रशिक्षक संघको कोषाध्यक्ष, सगरमाथा आरोही संघ, नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतारोहण पथप्रदर्शक संघमा साधारण सदस्य छन् भने माउण्ट एभरेष्ट समिटर क्लवमा पनि सदस्यको रुपमा आवद्ध छन् । सन् २०१७ मा नेपाल पर्वतारोहण पथ प्रदर्शकको सदस्य प्राप्त गरेका छिरीङ पेम्बाले सन् २०२२ देखि आधिकारीक रुपमा प्रशिक्षण पनि दिँदै आएका छन् । 

निम्न वर्गीय परिवारमा जन्मेका छिरीङ पेम्बाको बाल्यकाल सकसपूर्ण तरिकाले बितेको थियो । गरिबी र अभावका कारण कलिलै उमेरदेखि पोर्टरको रुपमा पर्यटन क्षेत्रमा छिरेका उनले कडा परिश्रम, मेहनत र ईमान्दारीताकै कारण लामो समय पोर्टरको रुपमा हिँड्नु परेन । बुबा आङ छिरीङ शेर्पाले पनि सगरमाथाको आरोहण गरिसकेकाले र काकाहरु पनि पर्यटन क्षेत्रमा रहेकाले बुबाको पदचाप पछ्याउँदै उनी पनि सन् २००७ मा पहिलो चोटी सगरमाथाको चुचुरोमा पुगे । त्यस यता उनी वर्षेनी स्वदेश र विदेशका हिमालहरु चढिरहेका छन् । आफ्नो जीवन भोगाइको अनुभव र हिमाल आरोहणमा पाएको सफलतालाई समेटेर उनले ‘सपना बुबाको यात्रा मेरो’ नामको आत्मा संस्करण कृति पनि चाँडै प्रकाशन गर्दैछन् । 

तपाईंको प्रतिक्रिया

थप खबर