मिडियाबाजी डटकम काठमाडौँ, जेठ १६ । मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् ।
यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् ।
यसको ज्वलन्त उदाहरूण हो– बकैया गाउँपालिकाको विकट क्षेत्र मानिने बकैया–२ धिंयालकी २० वर्षीया रञ्जिता तामाङ। राम्रो लाउने, मीठो खाने र साथीहरूसँग घुमेर हिँड्ने कलिलो उमेरकी रञ्जिता घाँसको भारीमाथि तीन वर्षीय छोरा बोकेर गाउँबेँसी गरिरहेकी छन् । उनलाई सानैदेखि नृत्यमा असाध्य रूचि थियो । तर १६ वर्ष नपुग्दै भागी विवाह गरेपछि उनको पढाइ र सपनामा पनि पूर्णविराम लागेको हो ।
निजगढमा कक्षा ९ मा पढ्दै गर्दा आफ्नै कक्षामा सँगै पढ्ने साथीसँग बसेको प्रेमका कारण भागी विवाह भएको थियो । रञ्जिता भन्छिन्, ‘विवाह गरेर एकदम सुख पाउँछु भन्ने मलाई लागेको थियो, मलाई पढाइमा असाध्यै रूचि थियो र सँगै नृत्यको प्रशिक्षक बन्न पनि ।’ विवाहको केही दिन त उनलाई नयाँ घरपरिवारमा पाएको मायाले निकै खुसी दिएको थियो । तर विद्यालय जान नपाउँदा भने अकास खसे जस्तो भएको उनी सम्झिन्छिन् । रञ्जिता थप्छिन्, । जब सासूआमाले भनिन्, ‘अब तिमीले घर सम्हाल्नु पर्छ, खेतीपाती गर्नुपर्छ, तब बल्ल मलाई आफ्नो खुसी कम भएको जस्तो लाग्न थाल्यो ।’
उमेर सानो भए पनि निकै गम्भीर देखिने र परिपक्व कुरा गर्ने रञ्जितालाई ख्यालख्यालमै सुखका लागि गरेको विवाहले यसरी थिच्छ भन्ने नलागेको बताउँदै भन्छिन्, ‘घरको काम पनि नगरी आमालाई जितेर खाएको झलझल सम्झँदै आफूले गरेको गल्तीको सजाय भोग्न म बाध्य भएँ, मेरो बुद्धि आउँदासम्म मसँग मेरो विद्यालय र ठूलो स्टेजमा नृत्य गरेर आफूलाई चिनाउने सपना दुवै हराइसकेछ, अनि थाहै नपाई म त ठूली पो भइसकेछु ।’ घरमा आफू बुहारी भएको आभासले स्वतन्त्रता खोसिएको लागे पनि भाग्यमा लेखिएको मेटिँदैन रहेछ भन्दै चित्त बुझाएको उनी सम्झिन्छिन् । खेतबारी र वनजङ्गल उनको विद्यालय, अनि घरधन्दा र परिवारको हेरचाह उनको नृत्य कक्षा बनिसकेको थियो ।