मिडियाबाजी डटकम काठमाडौँ, साउन १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल लोडसेडिङको अवस्था नरहेको स्पष्ट पारेका छन् ।
आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङको अवस्था नरहेको बताए ।
‘गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,’ उनले भने, ‘वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्ने जस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।’ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी गर्न गृहकार्य भइरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए । प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।