मिडियाबाजी डटकम काठमाडौँ, साउन १३ । आज(मंगलबार) साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
त्यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।