मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भएको बताएका छन् ।
उनले अघिल्लो वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि रहेकोमा यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले अघिल्लो वर्ष नकारात्मक रहेका उत्पादनमूलक तथा निर्माण क्षेत्र यो वर्ष सकारात्मक हुने भन्दै यो अर्थतन्त्र सुधार हुँदै गरेका उल्लेख गरेका हुन् । उनले बाह्य क्षेत्र सकारात्मक रहेको, वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेको बताएका हुन् ।
चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान
चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् ।