मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । कैलालीको गोदावरी नगरपालिका–९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका चार जना किशोरको डुबेर ज्यान गएको छ ।
खोलामा सात जना नुहाउन गएका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृतहरूको नाम ठेगाना खुल्न बाँकी छ ।
यता काभ्रेको भुम्लु गाउँपालिका– ८ दुलालेश्वर मन्दिर नजिकैबाट एक जनालाई सुनकोशी नदीले बगाएको छ । सुनकोशी नदीमा भुम्लु गाउँपालिका– १ रिठ्ठेका २३ वर्षीय महेश दर्जी बेपत्ता भएको सशस्त्र प्रहरी १५ गण हेडक्वाटर काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीका अनुसार दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक बिनोद थापाको कमाण्डमा ११ जना र नं १६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्श कुमार शाहको कमाण्डमा ११ जना उद्दारको लागि खटिएका छन् । त्यस्तै दर्जीको खोजीको लागि प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।