मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जीप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।
उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । आज बिहान करिब सवा नौ बजेतिर जीप दुर्घटना भएको अनुमान छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । जीप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।