अब पोखराबाट अष्ट्रेलिया उडान

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ।

चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए।

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ।

औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भने।

यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो।

असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर