मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ । कर्णाली विकास बैंक घोटाला प्रकरणमा एक सय ११ जनाको प्रत्यक्ष संलग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको छ ।
उक्त बैंक घोटाला प्रकरणमा लामो अनुसन्धान गरेको सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको बताइएको छ । उक्त प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
यति ठूलो घोटाला प्रकरणमा प्रहरीले चार जनालाई मात्र पक्राउ गरेको छ । पछिल्लोपटक सीआईबीले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको थियो । बस्नेतअघि सीआईबीले तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो ।
मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट एमालेको सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनीसँगै स्वतन्त्र उम्मेदवार बनेका हृदयेश त्रिपाठीले भने सूर्य चिह्न नै लिएर नवलपरासीबाट निर्वाचन जितेका थिए । मिश्र पछि नेकपा एमाले प्रवेश गरेर सांसद र नगरको मेयरको पनि उम्मेदवार बनेका थिए । तर, उनी सबै निर्वाचनमा पराजित भएका थिए ।
एमालेबाटै गत निर्वाचनमा सल्यान जिल्लाबाट सांसद उम्मेदवार बनेका रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । सीआईबीले एक सय ११ जनाको नाम कारबाहीको लिस्टमा राखेपछि यसमा को–को तानिने हुन् भन्नेबारे हलचल पैदा भएको छ ।