मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् ।
उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्ने बारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ ।
खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्प बारे छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।