मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र व्यवस्था परिवर्तनको आवाज उठाइरहेका राजावादी समूहले भोलि (बिहीबार) काठमाडौंमा एकै दिन शक्ति प्रदर्शन गर्दैछन् ।
सरकारको नेतृत्व गरिरहेको एमालेले गणतन्त्र दिवसको उत्सव मनाउन भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ भने राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दू राज्यलगायतका मागहरू राखेर भोलि नै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । गत चैत १५ को राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि राजवादीले गर्ने थप कार्यक्रमहरूलाई विशेष चासोका रूपमा हेरिएको छ।
सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन। जिल्ला प्रशासन कार्यलय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी अशोककुमार भण्डारी नेकपा एमालेले भृकुटीमण्डप, रत्नपार्क, पुतलीसडक क्षेत्रमा कार्यक्रमका लागि स्थान माग गरेको छ । ‘जिल्ला सुरक्षा समितिको बैठक आज दिउँसो बस्ने छ,’ भण्डारीले भने, ‘यस विषयमा हामी बुझ्ने र निर्णय गर्ने काम बाँकी छ ।’