चीन भ्रमणमा नेपालको लिपुलेकका विषयमा भारतसँग भएको सहमतिबारे कुरा उठाइने

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग संगठन ‘एसइओ’ शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिए।

प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्नुहुने तय भएको छ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भने, ‘भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ। साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ।’ भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उनको भनाइ थियो।

मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताए।

यसैबीच, उनले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गरे। खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उनले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उनको भनाइ थियो।

तपाईंको प्रतिक्रिया

थप खबर