रूबी साहको हत्या गर्नुको कारण बताएपछि ‘प्रेमी’ लक्ष्मणको पनि मृत्यु

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी रुबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।

शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ३० वर्षीय पासवानलाई रौतहट प्रहरीले बुधबार बिहान उद्धार गरी उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो । पासवानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।

पासवान सुटकेसभित्र शव भेटिएकी रुबीकुमारी साहको हत्या प्रकरणका मुख्य अभियुक्त भएको प्रहरीले बताएको छ । रुबीको हत्या गरेर फरार पासवानले बुधबार पाँचौं दिन आफ्नै गाउँमा पुगेर जिउमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याएको थियो ।

रुबी र लक्ष्मण पूर्व प्रेमी–प्रेमिका भएको खुलेको छ । गत शनिबार रौतहटको गौर–गंगापिपरा सडक खण्डको मुडव लवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो । सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका– ६ मधोपुर माइती भएकी रुबीकुमारी साहको रहेको थियो ।

आत्मदाहको प्रयास पहिले उनले भिडिओ सार्वजनिक गर्दै साहको हत्या आफूले गरेको स्वीकार गरेका थिए । पासवानले छात्तीको दाहिनेतिर रुबीकै तस्वीर ट्याटु बनाए थिए भने दाहिने हातमा रुबीकै नाममा ट्याटु खोपेका थिए ।

पासवानकी पत्नी छिन् । उनले भिडियोमा आफूहरु स्कुल पढ्दादेखि नै प्रेम सम्बन्धमा रहेको र विहे समेत गरेको दावी गरेका छन् । रुबीले पनि १३ वर्ष पहिले नै भारतीय नागरिकसँग बिबाह गरेकी थिइन् । उनी छोरो पढाउन भन्दै केही महिनादेखि रौतहटमा बस्दै आएकी थिइन् । पासवान भने रोजगारीका लागि मलेसिया थिए । मलेसियाबाट फर्किएको केही समयमै रुबीको हत्या गरेका पासवानको पनि मृत्यु भएको हो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो रेकर्डमा उनले भनेका छन्, ‘स्कुल पढ्दादेखिकै हाम्रो प्रेम सम्बन्ध थियो । आठ कक्षादेखिको प्रेम सम्बन्ध म गरिब भएकै कारण टुट्यो । मेरो प्रेम सम्बन्ध उजाडिनुमा रुवीकै आमाको भूमिका छ ।’

रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवै जना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनले बताएका थिए । पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर