मिडियाबाजी डटकम काठमाडौँ, साउन ११। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अर्को दिन बस्नेगरी सारिएको छ ।
आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई कतिखेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने, ‘सभापतिले विषयबस्तु राखिरहँदा मन्त्रीज्यु कतिवेला आउनु होला, हामी कतिखेरसम्म पर्खिराख्ने हो र यसको जवाफ त टेक्निकल्ली त दिनुहोला । यसको जिम्मेवारपूर्ण जवाफ चाहियो । यसको जिम्मेवार जवाफ कसले दिने हो, यि विषयबस्तु दोहोरिरहेका छन् । सिंहदरवारभित्रको कम्पाउन्डको कुरा हो, चार पटकसम्म म्याद थप हुँदासम्म पनि नगरिएको कुरा हो ।’
उनले संविधानले दिएको समितिले निर्माणाधिन संघीय संसद भवन निर्माणको क्रममा म्याद थप गरिएकोमा सरकारबाट जवाफ माग्न चाहेको बताए ।
‘सरकारले के विश्वासका आधारमा यो म्याद थप गरिएका हो । त्यो म्याद थप गरिएको जवाफ सरकारबाट नै चाहन्छौ नी । जव की हामीलाई हाम्रो सरकारको संविधानले दिएको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको दायित्व अन्र्तगत बसेका छौ । यो संयुक्त समिति पनि हो,’ उनले भने ।
समितिका सभापति ठाकुर प्रसाद गैरेले थपिएको समयभित्र भवन निर्माणको काम सम्पन्न हुने मन्त्रालयको प्रतिवद्धता र मन्त्रालयको योजना जान्न चाहेको बताए ।