मिडियाबाजी डटकम काठमाडौँ, साउन ११। निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चरणबद्ध रुपमा बयान लिइरहेको छ।
घुस अडियोको विषयमा गत साताबाटै उनीहरुसँग चरणबद्ध रुपमा बयान लिइरहेको हो। ‘उहाँहरुको बयान शुरु भैसकेको छ, अख्तियारले छानवीन शुरु गरेपछि बयान लिएर अनुसन्धान थालिएको हो’, स्रोतले भन्यो।
बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर कर्मचारी सरुवा तथा जग्गा दर्तालगायतका विभिन्न काम गरिदिएको अडियो सार्वजनिक भएपछि सेवाग्राहीसँग धमाधम घुस असुलेको करिबकरिब पुष्टि भएको अवस्थामा अख्तियारले उनीहरुसँग बयान लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला परेको जनाएको छ। उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी घुस असुली गरेको स्रोतको दाबी गरिहरेका बेला पुष्टि हुने केही प्रमाणहरु फेला परेको स्रोतको दावी छ।