मिडियाबाजी डटकम काठमाडौँ, साउन ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईका उपलब्धिको पहुँचमा समानताको वकालत गरेका छन्।
चीनको साङ्घाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।’
उनले एआईका उपलब्धिमा सबैले लाभ लिनुपर्नेमा जोड दिए। उनले भने, ‘एआईका उपलब्धिमा सबैले लाभ लिनुपर्छ।’ उनले ओपन मोडल र डेटा सेट प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह समेत गरेका छन्।
विश्व कृत्रिम बौद्धिकता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआईलाई प्रवर्धन गर्ने संयुक्त राष्ट्रसंघको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताएका छन्।
सम्बोधनका क्रममा मन्त्री पृथ्वी सुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित विकासका लागि एआई रहेको बताए। उनले भने, ‘नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।’