प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि-४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरु सहभागी हुनेछन्।

नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ। धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसंघीय दिगो विकास लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको बताए।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका काम पूरा भएको जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए।

तपाईंको प्रतिक्रिया

थप खबर