मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले नीतिमा कृषकलाई प्राथमिकतामा राखेको भने पनि व्यवहारले उपेक्षा गरेको बताएका छन्।
किसानलाई मलदेखि अनुदानसम्म नदिनु र उत्पादन नै फाल्नु पर्ने अवस्था आउनुले सरकारको नीति र व्यवहार उल्टो भएको उनले टिप्पणी गरेका छन् ।
‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनु पर्ने, उत्पादन भएको दूध सडकमा फाल्नु पर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुनसक्छौं ?’, प्रश्न गर्दै डा. शेखरले भनेका छन्, ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?’
उनले किसानले उखुको भुक्तानी नपाउने र दिइँदै आएको अनुदान समेत कटौती हुने अवस्था आउनु दुःखद भएको बताएका छन् । ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो । उनीहरूको माग तुरुन्त पूरा गरौं’, उनले मंगलबार समाजिक सञ्जालमा लेखेका छन् ।