स्क्रबटाइफसबाट बालिकाको मृत्यु

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा स्क्रबटाइफसबाट एक बालिकाको मृत्यु भएको छ ।

सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण मृत्यु भएको हो ।

लगातार ज्वरो आउने, रुघाखोकी लागेपछि उनले स्थानीय औषधि पसलबाट उपचार गराएकी थिइन् । तर अवस्था सुधार नभएपछि गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको अक्सिजनकोस्तर कम देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए ।

उनका अनुसार समयमा अस्पताल नलगिएको, विभिन्न स्वास्थ्य समस्या देखिनुका साथै स्क्रबटाइफस पोजेटिभ पुष्टि भएकाले थप उपचारका लागि पाल्पा पठाइएको थियो । तर उपचारका लागि लैजाने क्रममा बाटोमै बालिका बेहोस भएकी र अस्पतालमा पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

भट्टराईका अनुसार यस वर्ष भदौ ६ गतेसम्म पाल्पामा २ सय ३८ जना स्क्रबटाइफसका बिरामी पोजेटिभ देखिएका छन् । यो तथ्याङ्क पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल र रामपुर अस्पताललगायतका स्थानबाट संकलन गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर