मिडियाबाजी डटकम काठमाडौँ, असार १२। आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ।
भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो। बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।
नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो।
गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकलगायतले स्वागत गरे। उद्धार गरिएकाहरुलाई विहीबार(आज) आ-आफ्नो घर फिर्ता गराइनेछ।
भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४÷४ जना, दाङ, स्याङ्जा, बाँकेका ३-३ जना, डोटी, ताप्लेजुङ, धादिङका २÷२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देहीका १-१ जना छन्।
गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो।
जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन्। अन्य १८ वर्षमाथिका नेपाली छन। उनीहरुलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए।