वामदेवको फेरि गुनासो : एकीकृत समाजवादीमा दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौँ केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।

काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण संगठन कमजोर बनेको उनको भनाइ छ । उनले पार्टीका सबै सदस्यलाई कुनै न कुनै जिम्मेवारी तोक्नु पने बताए ।

उनले पार्टीमा बसेर नीति र सिद्धान्त पालना नगर्ने नेताहरूलाई ‘नक्कली कम्युनिष्ट’ को संज्ञा दिए । सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टीका शीर्ष नेताहरू जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उनको भनाइ थियो । गौतमले आफू पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत जिम्मेवारी नदिएको भन्दै गुनासो समेत गरेका छन् ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) का सबै नेता काठमाडौँ उपत्यकामै छन् । त्यसो भएपछि तल नेताहरू हुने कुरा भएन । यस्तो लागेको हुनाले ती नेताहरूलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ । एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ, किनभने कम्युनिष्ट पार्टीको सिद्धान्तले त्यही भन्छ । पार्टी सदस्यता पाएपछि प्रतिमहिना शुल्क तिर्नुपर्छ र जिम्मेवारी नजुध्ने गरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ । त्यस्तो नभए सबै नक्कली कम्युनिष्ट हुन् । जिम्मेवारी तोकिएको छैन भने तिनीहरू नक्कली कम्युनिष्ट नै हुन् ।’

उनले भने, ‘हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने, आजको परिस्थितिमा के गर्न जरुरी छ भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गर्नुपर्छ, जनतामाझ जानुपर्छ । नीति र सिद्धान्त पालना गर्नुपर्छ । तर पार्टीका नेताहरू तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने काममा सक्रिय छैनन्, सबै ठूला नेताहरू काठमाडौँमै छन् ।’

तपाईंको प्रतिक्रिया

थप खबर