मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । सत्ता साझेदार नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापति सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ ।
राज्य व्यवस्था समिति सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो ।
बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक फेरि बोलाएका छन् ।
शीर्ष पाँच नेताको बैठक दिउँसो बस्ने गरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ । राज्य व्यवस्था समिति सभापतिको लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि सभापति देउवा शीर्ष नेताको बैठक आकस्मिक बोलाएका हुन् । कांग्रेस स्रोतले भन्यो, ‘बिहान रोकिएको बैठक सभापतिले फेरि डाक्नुभएको छ । छोटो समय बैठक बसेर निर्णय गर्न बैठक बोलाउनु भएको छ ।’
समितिको सभापतिका लागि आकांक्षी चार सांसदमध्येबाट बडूलाई अघि सार्न लागिएको स्रोतले बताएको छ । अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानी पनि आकांक्षी छन् । समितिमा कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा दिलेन्द्रप्रसाद बडू,, सरिता प्रसाई, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र अम्बिका बस्नेत सदस्य छन् ।