मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ।
आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन्।
महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन्।
अस्पतालमा उपचाररत संक्रमितको विवरण
नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बिरामीको उपचार भइरहेको छ। यस्तै, झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार केही बिरामी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्। उनले आत्तिनुपर्ने अवस्था नरहेको र सफा खानेपानी, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने बताए।